Great Himalaya Trail Day-10

The Great Himalaya Trail
Hilsa To Manepeme(Humla)
21 July 2016

मानेपेमे पुग्नै लाग्दा थाकेर लोथ हुँदै दुम्केलोमा थकान मेटाउदै हामी

0600Hrs उठ्यौ। लिमी भ्याल्ली जानका लागि हाम्रा सहयोगी लामा दाई 0630Hrs आउनु भयो। संगै बसेर खाजा खायौ। २ रात बस्दा खाएको रु 5000  तिर्यौ। साहुनीलाई हिल्सा बजारलाई छाडेर जाने रहर थिएन्। के गर्ने हिड्नै पर्ने भएकाले फेरी भेटौला भन्दै बाटो लाग्यौ ।झुलुङ्गे पुल तर्दै नाकै ठोक्केला झै नाङ्गो पाखामा नेपाल चाईना सिमानाको बाटोमा उक्लिन थाल्यौ। उचाई ह्वत ह्वत बढ्दै थियो।सामुन्द्रि सतहबाट 4000मिटरको उचाईमा उक्लिदा बल्ल हल्का तेर्स्रो बाट सोझियो। उचाई बढे पछि हिड्न सास्ति र सास स्वाँ स्वाँ र फ्वाँ फ्वाँ  हुने नै भयो।

चारै तिर नाङ्गा पाखा भएता पनि रोचक वतावरण थियो त्यसैमा रमाईलो गर्दै हिडि रहेका थियौ। खोचमा कर्णाली निस्सासिएर बगेको देख्दै थियौ। घामको कलिलो उषा नाङ्गा पहाड को टुपीमा भिज्दै ओरालो झर्दै थियो । हिड्दै गर्दा  बिसौनीमा धारा भेट्यौ। चिया पिउने सल्ला भयो। लामा दाईले मानेपेमे नपुगुन्जेल सम्म बाटोमा पानी छैन्। दाउरा खोजेर आगो सल्काउनु भयो। तिरीरीरी सानो धारामा बिशाल भान्जाले पानी भर्नु भयो। तातो चिया पिउदै २ घण्टा आराम गर्यौ।

एक घण्टा हिडे पछि चर्को घामले हिर्काउन थाले। खुस्क्यो भने सिधै कर्णालीको खोजमा पुग्ने खालको अक्कर आउन थाल्यो। २ ठाउमा पहिरोले बाटो पुरै खतरनाक बनाएको रहेछ। बिशाल भान्जालाई मैले डोराए। आङ् जिरिङ्ग हुने खालको अक्कर छ त हौउ भान्जा मैले भने ।मानेपेमे पुग्दा 1300Hrs बज्यो।  पानी पिउदै थकान र पसिनाले भिजेको लुगा सुकाउन थाल्यौ । आज घामले सेकाउन सम्म सेकायो भन्दै सुत्यौ सिवलमा। साढे एक घण्टा आराम गरे पछि बाटो लाग्यो।

सामुन्द्रक सतहबाट 4200 मिटरको उचाईमा कछुवाको रफतारमा उक्लिदै थियौ। नाङ्गा पहाड नियाल्दै । खुईयाँ गर्दै हिड्दै गर्दा लामा दाईले भन्न थाले आज हाल्जी पुगिदैन्। ठुलो ओडार छ। पानी पनि छ। त्यहि बस्नु पर्छ । हुन्छ भन्यौ हामीले। खासमा हिल्सा देखि हाल्जी सम्म पुग्ने योजना थियो हाम्रो । हाल्जी गाउ पुग्ने योजना बिफल भयो। बाटामा  होटल  र बस्ति नभएकाले आलु रोटी खाजा भनेर बोकेका थियौ। ओडार आईपुग्नै लाग्दा पाखामा हरिया घास खादै रमाउदै चर्दै गरेका एक हुल नाउरहरु(Blue sheep) हामीलाई देखे पछि बुर्कुसी मार्दै ओरालो पाखामा हामफाल्दै भाग्यो।

4300 मिटरको उचाईमा अवस्थित ओढारमा 1700Hrs आईपुग्यौ। हेर्यौ गजब छ।थकानले ज्यान लोथ छ।  लामा दाईले आगो सल्काउनु भयो । चिया पिउदै । हैट आज हामी अन्धा धुन्धामा हिड्यौ। धन्न हामीले 4 किलो जती उसिनेको आलु बोकेको काम लाग्ने भयो। आज यसैको खोले बनाएर खाने सिवाय छैन्। हिल्सा हाल्जी २ क्याम्पको बाटो रहेछ ।मैले टेण्ट टाङ्दै बिशाल भान्जालाई भने।‍ किशोर सरले कचौरामा आलु माँड्दै थिए। बिशाल भान्जाले भने Great Himalaya Trail भनेको यस्तै हैन मामा । म फुस्स हाँसे किशोर सर पनि हाँस्नु भयो।

माथि ३ वटा नाउर पानी खादै गरेको देख्यौ। हामीलाई हेर्दै उकालो टाप कस्यो मिलिक्कै। पानी भएकाले चराचुरुङ्गी बास बस्ने बेलाको आवाज निकाल्दै थियो। चारै तिर नाङ्गा पहाड नियाल्दै चिया पिउदै गर्दा आलुको खोले पनि तयार भयो। खकुलो पेटमा तातो आलुको खोले खान थाल्यौ । आज आलु नबोकेको भए हामी भोकले के हुन्थ्यो भन्नु भयो किशोर सरले। काठमान्डुमा भन्दा हुम्लामा आधा घण्टा ढिला रात पर्ने भएकाले । रात नपरुञ्जेल आगो ताप्दै चिया पिउदै बस्यौ।भोलि बिहानको लागि पनि आलु उबारेर राखेका छौ  खाजाको लागि।

भोलि खाना खाना हाल्जी पुगिन्छ लामा दाईले भने। आजको जस्तै चाला भयो भने फेरि मैले भने। किशोर र बिशाल भान्जाले गललल हाँस्दै।  त्यो पनि हुन सक्छ। पारीको नाङ्गा र फाटफुट हरिया देखाउदै भन्यो। अर्को महिना त्यो पाखामा जडीबुटी खोज्नु आउछु। लामा दाईले भन्नु भयो। आगो ताप्दै गर्दा गोधुली साँझले स्वागत गर्न थाल्यो। हामी टेण्ट भित्र छिर्यौ।

मानेपेपेको भित्ता तिर हिड्दै हामी

Our 5 Star Hotel